नेपाल विद्युत प्राधिकरणले नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणकाअनुसार आव २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ ।
२०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेयता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् ।
अहिले नाफामा कमी आए पनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ । कार्यकारी निर्देशक शाक्यले भने, ‘विद्युत बिक्रीबाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्चलगायत सम्पूर्ण खर्चसहित आव २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । आव २०८१/८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०/८१ को तुलनामा ३७.३२ प्रतिशतले कम हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरेवापत साढे ५ अर्ब नोक्सानी भएको छ । प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत बिक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ ।
उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव २०८१/८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो ।
प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आवको तुलनामा ४.६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिब ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ ।
प्राधिकरणको कुल सम्पत्ति २०८१/८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१/८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ ।