मेघ गर्जनसहितको वर्षाले काठमाडौंको वायु प्रदूषण घटाएको छ । वायु प्रदूषणका दृष्टिले केही दिनदेखि विश्वकै खराब शहरहरूमा पहिलो र दोस्रो स्थानमा रहँदै आएको काठमाडौं आज बिहान १२औं स्थानमा पुगेको छ ।
आज पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । लाहोरको एक्युआई १ सय ८६ रहेको छ । १२औं स्थानमा रहेको काठमाडौंको १ सय १२ एक्यूआई रहेको छ ।
हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रूपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताएका छन् । यसअघि मौसमविदहरूले वर्षा नहुँदा सम्म काठमाडौंको वायु प्रदूषण हट्न समस्या हुने बताउँदै आएका थिए ।
वर्षासँगै काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रूपमा हट्ने उनले बताए ।