पशुपतिनाथको ४ वटै ढोका खुला, मन्दिर छिर्न ४ वटा लाइनको व्यवस्था

Yangle News
Yangle News
२०८२ भदौ १० गते
पशुपतिनाथको ४ वटै ढोका खुला, मन्दिर छिर्न ४ वटा लाइनको व्यवस्था

हरितालिका तीज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका ४ वटै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तीजका अवसरमा पशुपतिनाथ आउने भक्तजनलाई सहज रूपमा दर्शन गर्न पाउने व्यवस्थाका लागि बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुला गरिएको कोषका निमित्त सदस्य सचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।

४ वटा ढोका खुलेपछि सेवासुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसादको व्यवस्था, दर्शनमार्गको व्यवस्था एवं सुधार, जुत्ताचप्पल राख्ने ठाउँको व्यवस्था, आकस्मिक स्वास्थ्य सेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, भजन कीर्तन, दिपावली, व्रतालुले गौदान गर्ने ठाउँको व्यवस्था लगायतका काम पनि भएको उनले बताए ।

४ वटा लाइन, ८ वटा लाम

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्न ४ वटा लाइनको व्यवस्था गरिएको छ । पहिलो लाइन गौरीघाट-उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगारेश्वर-वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्किएर कैलाश दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ । दोस्रो लाइन मित्रपार्क-जयबागेश्वरी-पाँचगणेश-भीमसेनस्थान-भुवनेश्वरी-शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शंकराचार्य मठ दक्षिण जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

तेस्रो लाइन पिंगलास्थान-चारशिवालय-पञ्चदेवल-बज्रघर-दक्षिण ढोकासम्मको लाइनलाई कोटीलिंगेश्वर मन्दिर छेउको सानो ढोकाबाट मन्दिर प्रांगण प्रवेश गरी दक्षिण ढोका हुँदै बाहिरिने र पञ्चदेवल पूर्व अस्थायी रूपमा निर्माण गरिएको जुत्ताचप्पल कक्षबाट जुत्ता-चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।

चौथो लाइन तिलगंगा-राम मन्दिर हुँदै बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने र आर्यघाट नजिकको पुलसँगैको अस्थायी जुत्ताचप्पल कक्षबाट जुत्ताचप्पल लिइ फर्कने व्यवस्था मिलाइएको छ ।

मूल मन्दिरभित्र भने ८ वटा लामको व्यवस्था गरिएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथको दर्शन गरी फर्कंदा पशुपतिनाथ मन्दिर प्रांगणभित्र दर्शनार्थी र अन्य भक्तजनको सुविधाका लागि मन्दिरको चन्दन पश्चिम ढोका बाहिर सानोसदावर्त सत्तल, पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगंगा वनकाली, गौशाला, जयबागेश्वरीमासमेत वितरणको व्यवस्था मिलाइएको छ ।

पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो देशका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्रांगणबाहेक) अवलोकन भ्रमण गर्न दिइने कोषकी सूचना अधिकारी अनिता भट्टले बताइनं । भक्तजनबाट गौदान, पूर्णपात्रोजस्ता ब्राह्मण प्रयोग गरी गरिने धार्मिक कार्यका लागि भकुण्टोल-वनकाली मार्गको दायाँबायाँ क्षेत्रमा व्यवस्था मिलाइएको पनि उनको भनाइ छ ।

बहुमूल्य गरगहना लगाएर र बालबालिकालाई साथमा लिएर पशुपतिनाथको दर्शनमा नआउन कोषले भक्तजनमा अनुरोध गरेको छ । पशुपतिनाथका नित्य दर्शनार्थी बिहान साढे ५ बजेसम्मका लागि मात्र ४ वटा ढोकामध्ये जुनसुकै ढोकाबाट प्रवेश गरी दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । मन्दिर दर्शनका लागि कुनै पनि किसिमको पासको व्यवस्था नगरिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

६१६ जना ट्राफिक प्रहरी

आज पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा ६१६ जना ट्राफिक प्रहरी खटिएका छन् । पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६१६ ट्राफिक प्रहरी खटाएको हो ।

सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा कमान्ड सेन्टर राखी ६१६ जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ । आवश्यकता अनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरी समेत खटाइदै जाने ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

कृत्रिम वाटर ड्रपलेट

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेटको व्यवस्था गरेको छ । मन्दिरको पश्चिम ढोकाअगाडि वाष्पीकरण गराइएको यो व्यवस्थाले भक्तजनहरूलाई गर्मीबाट राहत मिलेको छ । कोषका अनुसार, विगतका वर्षहरूमा तीजको दिन अत्यधिक गर्मीका कारण महिलाहरू बेहोस हुने समस्या देखिएपछि यो उपाय अपनाइएको हो ।