नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । मंगलबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको हो । यस्तै विपक्षमा २२ मत परेको संसदीय दलका सचिव कृष्ण तामाङले जानकारी गराए ।
गत साउन ९ गते प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले नयाँ संसदीय दलको नेताको रुपमा नेपाली काग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाइ अघि सार्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
मुख्यमन्त्री लामाले आफूलाई संसदीय दलको नेताबाट हटाइएको विधिमै प्रश्न उठाएका छन् । ‘अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो/पुगेन हेर्न बाँकी नै छ । दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्छ । त्यहाँ गोप्य मतदान हुन्छ, त्यहाँ हेरौंला,’ उनले भने । खुला रूपमा सांसदले तटस्थ मत व्यक्त गर्न नपाएको लामाले जिकिर गरे ।
दलको नेताको हैसियत गुमाएसँगै मुख्यमन्त्री पद छाड्न उनीमाथि नैतिक दबाब परेको छ । कांग्रेस सांसद इन्द्र बानियाँले आफूलाई मुख्यमन्त्री पद हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।
तर, लामाले आफू संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिएका छन् । ‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो’, मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन ।’
उनले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि बताए । सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जाल रचिएको उनको भनाइ थियो ।