पुस महिनामा घरजग्गाको कारोबारमा सुधार आएको छ । अघिल्लो महिनाको तुलनामा घरजग्गाको कारोबारको क्रममा रजिष्ट्रेसन दस्तुर बापत सरकारले पाउने रकम (राजस्व) पनि पुसमा बढेको छ । पुस महिनामा २ अर्ब १२ करोड रूपैयाँ रजिष्ट्रेसन दस्तुर उठेको छ । मंसिरमा सरकारले रजिष्ट्रेसनबाट एक अर्ब ९५ करोड रूपैयाँ आम्दानी गरेको थियो । पुसमा मंसिरको तुलनामा ८.३३ प्रतिशतले सरकारको आम्दानी बढेको छ ।
काठमाडौंमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको छ । काठमाडौंको चावहिल, टोखा, डिल्लीबजार, साँखु र कलंकी मालपोत कार्यालयबाट पुस महिनामा ४६ करोड ५५ लाख रूपैयाँ बराबरको रजिष्ट्रेसन दस्तुर उठेको छ ।
काठमाडौंमा एक हजार सात सय ६३ पटक घरजग्गा कारोबार (लिखित पारित) र एक सय ५१ वाट नामसारी भएको छ ।
त्यसपछि ललितपुरमा १५ वटा लिखित पारित र ८५ वटा नामसारी कारोबार भएको छ । रजिष्ट्रेसन दस्तुरबापत १६ करोड ६१ लाख रूपैयाँ उठेको छ ।
भक्तपुरमा आठ सय ७७ पटक घरजग्गा कारोबार र ७० वटा नामसारी भएको छ । भक्तपुरमा रजिष्ट्रेसन दस्तुरबापत १२ करोड ५३ लाख रकम उठेको छ ।
संख्याको आधारमा मोरङमा सबैभन्दा धेरै घरजग्गाको कारोबार भएको छ । यो जिल्लामा दुई हजार ८ सय ७३ वटा लिखित पारित भएको छ । यो जिल्लामा रजिष्ट्रेसन दस्तुरबापत ९ करोड २९ लाख रकम उठेको छ ।