देशभर कृषि सर्वेक्षण सुरु

Yangle News
Yangle News
२०८२ मंसिर १२ गते
देशभर कृषि सर्वेक्षण सुरु

सरकारले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सबै ७ सय ५३ पालिका, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्यांक संकलन सुरु गरेको हो ।

तथ्यांक लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट पालिकासँग समन्वय र सहकार्य गरिएको मन्त्रालयका तथ्यांक शाखा प्रमुख रामकृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार कृषि उत्पादन, पशुपालन, लागत, बजारीकरण, आम्दानी, सिँचाइ, पूर्वाधारको अवस्थालगायत विस्तृत विषयवस्तुको तथ्यांक संकलन गरिनेछ ।

गणकले किसानसँग प्रत्यक्ष भेटेर कृषि सर्वेक्षण गरिरहेका छन् । नमूना विधिका माध्यमबाट संकलन गरिने तथ्यांकमा पहिलो चरणमा ६ लाख किसान छनोट गरिने रेग्मीले जानकारी दिए । तीमध्येबाट ५१ हजार किसान छनोट गरी कृषि क्षेत्रमा उनीहरूको अनुभव तथा सरकारबाट प्रवाह गरिएका सेवा, सहुलियतमा लक्षित वर्गको पहुँच तथा समस्या पहिचान गरी आधिकारिक तथ्यांक संकलन गरिनेछ ।

राष्ट्रिय जनगणना र कृषि गणनापछिको महत्त्वपूर्ण राष्ट्रियस्तरको कार्यक्रमका रूपमा कृषि सर्वेक्षणलाई लिइएको छ । देशभर तथ्यांक संकलन भएपछि त्यसलाई थप अध्ययन गरी अन्तिम विवरण सार्वजनिक गरिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सर्वेक्षण तथा तथ्यांक संकलनका लागि पालिकामा क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कृषि नीति तथा योजना तर्जुमा गर्न वैज्ञानिक आधार तयार पार्न तथ्यांक महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।