नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा प्रतिनिधि टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियासँग भेट गरी संस्थाका गतिविधिबारे जानकारी गराउँदै विपन्न नागरिकलाई निःशुल्क क्यान्सर उपचारको व्यवस्था गर्न माग राखेको छ ।
भेटका क्रममा क्यान्सर रोगीका लागि आवश्यक सेवा विस्तार, उपचार पहुँच र सहुलियतका विषयमा विस्तृत छलफल भएको थियो । छलफल सकारात्मक भएको जनाइएको छ । संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ “ईश्वर”ले ललितपुरको बालकुमारीस्थित अर्बुद भवनमा क्यान्सर डायग्नोस्टिक सेन्टर तथा हस्पिस सेवा सञ्चालन गर्ने योजना प्रस्तुत गरेका थिए । साथै, संस्थाका प्रतिनिधि मण्डलले धापाखेलमा रहेको करिब ४ रोपनी जग्गामा भवन निर्माण गरी हस्पिस सञ्चालन गर्दै विपन्न बिरामीलाई निःशुल्क सेवा प्रदान गर्न प्रदेश सरकारबाट बजेट विनियोजनको मागसमेत राखेको थियो ।
मुख्यमन्त्री बाँनियाँले प्रदेश सरकारका तर्फबाट आवश्यक उपकरण तथा प्राविधिक सहयोगसहित सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै निकट भविष्यमा औपचारिक सम्झौता गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रतिनिधि मण्डलमा प्रदेश सांसद पुकार महर्जन, संस्थाका उपाध्यक्ष विमल होडा तथा महासचिव दीपेन्द्र बान्तवालगायत सहभागी थिए ।