‘मुलुकलाई अगाडि बढाउनुछ, समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं’

Yangle News
Yangle News
२०८१ फाल्गुन २७ गते
‘मुलुकलाई अगाडि बढाउनुछ, समृद्धिका लागि छिटो काम गर्न चाहन्छौं’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गरेका छन् ।

यस क्रममा उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताए । प्रधानमन्त्री ओलीले जनताको बलिदानी र सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी दिए ।

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । ‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहन्छौ । गरिबी हटाएर मात्रै सन्तोष मान्दैनौ । समग्र मानवीय जैविक र न्यायोचित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘नागरिक सर्वोच्चता भएको यस प्रणालीमा रहेर समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो  । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन गरेर विविधताबीच एकता कायम गर्दै गौरवपूर्ण इतिहास भएको नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।