देशभर प्रदर्शन भइरहेका नेपाली चलचित्रहरूको पछिल्लो व्यापारिक विवरण सार्वजनिक भएको छ । ‘सिनेपाः@बक्स अफिस’ ले पुस १९ गते शनिवार राति ११:५९ बजेसम्मको आधिकारिक तथ्यांक सार्वजनिक गर्दै चलचित्रहरूको आम्दानीको अवस्था बाहिर ल्याएको हो ।
सार्वजनिक रिपोर्ट अनुसार चलचित्र ‘परान’ले बक्स अफिसमा आक्रामक व्यापार गर्दै अन्य प्रतिस्पर्धी चलचित्रहरूलाई निकै पछाडि पारेको छ । समग्रमा नेपाली चलचित्र बजारमा ‘परान’ को एकलौटी राज देखिएको छ भने अन्य चलचित्रहरूले बक्स अफिसमा निकै न्यून व्यापार गरिरहेका छन् ।
यस अवधिमा सबैभन्दा बढी आम्दानी गर्ने चलचित्रको सूचीमा ‘परान’ पहिलो स्थानमा रहेको छ । यसले हालसम्म ६ लाख २८ हजार ७ सय ९३ टिकट बिक्री गर्दै कूल १७ करोड ७१ लाख १७ हजार ८ सय ३० रुपैयाँ आम्दानी गरेको छ । यो कमाइ हाल प्रदर्शनमा रहेका अन्य सबै चलचित्रहरूको संयुक्त आम्दानीभन्दा पनि बढी हो ।
त्यस्तै, दोस्रो स्थानमा रहेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ले २९ हजार ६ सय ८३ टिकट बिक्री गरी ९३ लाख ८३ हजार ५ सय १६ रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा रहेको चलचित्र ‘हर्ष’ले ८ हजार ८ सय ६८ टिकट बिक्री गर्दै २८ लाख ७८ हजार ८ सय ३६ रुपैयाँ जोडेको छ ।
चौथो स्थानमा रहेको ‘अभिमन्यु’ले ६ हजार ८ सय ९२ टिकट बिक्री गरेर २१ लाख ५८ हजार ४ सय २२ रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, ‘पीआर’ ६ लाख ८२ हजार २ सय ८३ रुपैयाँ कमाइ गर्दै पाँचौं स्थानमा रहन सफल भएको छ ।
चलचित्र ‘मुगलान’ ६ लाख ५ हजार २ सय ९४ रुपैयाँ आम्दानीका साथ सूचीको अन्तिम स्थानमा देखिएको छ । मुगलानले टिकट संख्या (२,२८८) मा पीआर (२,१६६) लाई उछिने पनि कुल आर्थिक आम्दानीमा भने पछि परेको हो ।