सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते देशैभर हुँदै छ ।
त्यस्तै बैठकले जेनजी परिषद् गठन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।
त्यस्तै बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ भने काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौको अध्यक्ष तोक्ने निर्णय गरेको प्रवक्त अर्यालले बताए ।
मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णयसमेत गरेको छ ।