एनसेल फाउन्डेसनले एनपीएल खेलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

Yangle News
Yangle News
२०८२ मंसिर १९ गते
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौकाबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिएका चौकाहरूबापत २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने पक्का भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार, यी सामग्रीहरू सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रदान गरिने एनसेलले जनाएको छ ।

गत वर्ष एनपीएलसँगको सहकार्यमा सुरु गरिएको यो प्रभावकारी पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग गर्दै आएको छ । एनपीएल सिजन २ का हरेक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता फाउन्डेसनले जनाएको छ । क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्ने यो पहल, विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक सहयोग प्रदान गर्ने फाउन्डेसनको प्रतिबद्धताको एक प्रमाण हो ।

हिजो बिहीबार (मंसिर १८)सम्म खेलिएका एनपीएल सिजन २ का खेलहरूमा ९० खेलाडीले कुल ५१० चौका प्रहार गरेका छन्, जसले २,०४० शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेको छ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीहरूको सूचीमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन २७ चौकासहित अगाडि छन्, जसले १०८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।

त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्ट १९ चौकासहित दोस्रो स्थानमा रहेर ७६ शैक्षिक सामग्री योगदान गरेका छन् । त्यसैगरी, काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी तेस्रो स्थानमा छन्, उनीहरूले १७-१७ चौका प्रहार गर्दै प्रत्येकले ६८ शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् ।

यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीहरूको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने विश्वास गरिएको छ । विद्यार्थीहरूलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कपी, पेन्सिल, सार्पनर, इरेजरलगायतका आवश्यक सामग्रीहरू समावेश हुनेछन् । यी सामग्रीहरूले विद्यार्थीहरूलाई पठनपाठनका लागि आवश्यक स्रोतहरूको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

‘बिहीबारसम्मका खेलहरूमा चौका प्रहार गर्दै यस सामाजिक पहलमा योगदान पुर्‍याउने प्रत्येक खेलाडीलाई हामी हार्दिक बधाई र धन्यवाद दिन चाहन्छौं । गत वर्षदेखि नै हामीले क्रिकेटप्रतिको उत्साहलाई अर्थपूर्ण सामाजिक कार्यमा जोड्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आएका छौं । बाँकी खेलहरू अझ रोमाञ्चक हुनेछन् भन्नेमा हामी विश्वस्त छौं, जसले खेल मात्र होइन, शिक्षामा हुने योगदानलाई समेत थप विस्तार गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

गत वर्ष, एनपीएलको पहिलो सिजनमा प्रहार भएका ६ सय ५३ चौकाबाट फाउन्डेसनले २ हजार ६ सय १२ भन्दा बढी शैक्षिक सामग्री प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो । प्रतिवद्धताबमोजिम २ हजार ६ सय १२ सामग्रीसहित, फाउन्डेसनले देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौं विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको छ ।

यो वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू र साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिने कम्पनीले जनाएको छ ।