प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता

Yangle News
Yangle News
२०८२ बैशाख ५ गते
प्रधानमन्त्री र शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासंघका पदाधिकारीबीच आज साँझ भेटवार्ता भएको छ । सो अवसरमा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्नेलगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए ।

मन्त्रिपरिषद्को यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रवार दिउँसो १ बजे बैठकको आह्वान गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही बैठकले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइइको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिइ आन्दोलन फिर्ता गरी विद्यालय फर्कन शिक्षकहरूलाई आह्वान गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहाचिव मदनराज जोशी सहभागी थिए ।