संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको थिति नसुध्रिए यसबारे प्रमाणसहित सार्वजनिक चेतावनी दिएका छन् । बिहीवार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकमा मन्त्री किराँतीले विमानस्थल सर्वसाधारणको पहुँचबाट टाढा रहेको बताए ।
अब बेथितिहरुको अन्त्य हुनु पर्ने बताउँदै उनले अन्तर मन्त्रालय र विभागीय समन्वय नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको बताएका छन् ।
सर्वसाधारणले दिएको निवेदन सुनुवाई नहुनुको कारण माग्दै उनले विमानस्थल आम नागरिकको पहुँचमा हुनुपर्ने उल्लेख गरे ।
बैठकमा मन्त्री किराँतीले विमानस्थलमा यात्रुको सुविधाका लागि बाहिर काउन्टर थप्ने, बाहिर जानका लागि घन्टौ लाइन बस्नुपर्ने समस्याको समाधान गर्ने, बोर्डिङ पास लिने ठाउँसम्म अशक्त व्यक्तिहरूलाई सहयोग गर्न जाने व्यवस्था मिलाउने बताए ।
सुरक्षाको नाममा नागरिकले अनावश्यक दुःख पाइरहेको र यसको अन्त्य हुनुपर्ने उनको भनाइ छ। बैठकमा उनले भने, सुरक्षामा कुनै सम्झौता गर्न हुँदैन । तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरूलाई दुर्व्यहार भइरहेको छ ।
उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको सर्भर डाउनको कारण खोजी गरी समाधान गर्न समेत निर्देशन दिएका छन् ।
त्यस्तै ट्याक्सी स्टेशनमा प्रेवेश गरेपछि मात्र आफ्नो मान्छेलाई पिकअप गरेर लानुपर्ने बेथितिको अन्त्य हुनुपर्ने बताए ।
बैठकमा वायुसेवा निगमका पदाधिकारी, प्राधिकरणका माहनिर्देशक, विमानस्थलका प्रमुख तथा गृह मन्त्रालय र परराष्ट्रका पदाधिकारीहरू सहभागी थिए ।