अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स

Yangle News
Yangle News
२०८३ बैशाख ४ गते
अब ट्रायल पास गरेर राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।

केन्द्रको निरीक्षणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए । साथै, ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । उनले भने, ‘अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ ।’

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताए । अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उनले जोड दिए ।

मन्त्री तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए । करिब एक अर्ब बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए । तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।

मन्त्री तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे । ‘सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ,’ उनले भने । साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ ।

सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको बताए । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए । यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।