प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज समसामयिक विषयमा धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक र नीतिगत स्थिरता कायम गर्न दुई दल मिलेको बताए ।
उनले संसद्मा सम्बोधन गर्दै भने, ‘राजनीतिक र नीतिगत स्थीरता कायम गर्न र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो ।’ उनले विपक्षी दलहरूलाई अस्थीरता प्रिय भएको आरोप पनि लगाए । ‘विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ?,’ उनले भने, सरकार बनाउने संसद्को गणितले हो, बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ?’
उनले जसले जतिसुकै अस्थीरता चाहे पनि २०८४ सम्म यही सरकार रहने कुरा बताएका थिए । ‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ उनले भने । उनको सम्बोधनका बेला राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने संसद् बहिष्कार गरेका थिए ।
पूर्णपाठ: