दुर्गममा उडान सुरक्षित गर्न नागरिक उड्डयनले ल्यायो थप कडा मापदण्ड

Yangle News
Yangle News
२०८० साउन ३२ गते
दुर्गममा उडान सुरक्षित गर्न नागरिक उड्डयनले ल्यायो थप कडा मापदण्ड

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम, पहाडी र हिमाली क्षेत्रमा रहेका विमानस्थलमा हुने उडानलाई सुरक्षित बनाउन थप कडाई गर्ने नियम बनाएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व हवाई मार्ग, गन्तव्य विमानस्थल र वैकल्पिक विमानस्थलको मौसम जहाज उडान र अवतरणका लागि उपयुक्त भएको हुनुपर्ने जनाएको छ । ती क्षेत्रका विमानस्थलमा अतिरिक्त समयमा उडान गर्ने प्रमुख चालक र डिस्प्याचरको लिखित घोषण पश्चात् मात्र उडान अनुमति प्रदान गरिनेछ ।

यसैगरी अब आन्तरिक वायुसेवा अन्तर्गत दुर्गममा उडान गर्दै आएका वायुसेवा कम्पनिले नेपालगन्ज विमानस्थलमा फ्लाइट अपरेसन अफिसर (एफओओ) अनिवार्य राख्नु पर्ने निर्णय गरेको छ । अब प्राधिकरणले हरेक उडानको अनुमति लिने तथा अन्य उड्डयनसम्बन्धी कार्य एफओओद्वारा मात्रै हुनुपर्ने भनेको छ ।

दुर्गम तथा हिमाली भेगका विमानस्थलहरुको संचालन समय पुनरावलोकन गर्ने तथा इनरुट वेदरको उपलब्धतता बारे अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा एक उच्चस्तरीय समिति पनि गठन गरिएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिरकणका यी निर्णय आजैबाट लागू हुनेछन् ।

 

258 views