कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Yangle News
Yangle News
२०८२ साउन १९ गते
कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ विद्यार्थी ननग्रेड भएका छन् ।

यस वर्ष नतिजामा सुधार भएको छ । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका २०७८ ले व्यवस्था गरेको छ । यस वर्ष अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस पटक नतिजा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

बोर्डको क्यालेन्डरअनुसार साउन १५ भित्र नतिजा सार्वजनिक गर्नुपर्नेमा शिक्षक आन्दोलनका कारण केही ढिला भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा पनि आन्दोलनले २१ गतेबाट मात्र सुरु भएको थियो ।

परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी सहभागी भएका थिए । त्यस्तै आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए ।