खाँदबारी ०७४ सालको निर्वाचनमा एमाले स्थायी समिति सदस्य राजेन्द्र गौतमले संखुवासभाबाट प्रतिनिधिसभामा बाजी मारे । कारण थियो तत्कालीन एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल । धेरैलाई लागेको थियो, दुई तिहाइ बहुमतसहितको तत्कालीन नेकपाको सरकारले संखुवासभाको कायापलट नै गर्नेछ । तर, मतदातालाई यो पाँच वर्षमा निराशाबाहेक केही हात लागेन, कायापलट त एकादेशको कथाजस्तो मात्र !
गौतम निर्वाचित भएर गएपछि उनले निर्माणाधीन र योजनामा रहेका अधिकांश आयोजना रद्द गराइदिए । संखुवासभा ख’का सबै पालिका समेट्ने गरी चक्रपथ निर्माणाधीन थियो। चक्रपथ सडकको ट्र्याक तामाफोकसम्म पुगिसकेको थियो। ११० किलोमिटरको चक्रपथलाई प्रदेश ख’को विकासको मेरुदण्ड मानिएको थियो । तर, नेकपा सत्तामा आएपछि यो योजना रद्द गराइयो। सांसदका रूपमा गौतमले चक्रपथको अवधारणामै पानी फेरिदिए ।
प्रदेश ख’मा ०७० सालयताका चार वर्षमै हरेक घरमा बिजुली पुर्याइएको थियो। तीव्र गतिमा सडक निर्माण भइरहेकको थियो । तर, गौतम र उनको पार्टी एमालेका नेताहरूले त्यतिबेला कुनै विकास नभएको हौवा पिटाउँदै आएका छन् । कांग्रेसले ०७४ सालको निर्वाचनमा सबै पालिकामा गाडी पुर्याउने प्रतिबद्धता जनाएको थियो । कांग्रेसलाई पराजित गरेर सांसद बनेका गौतमले भने पालिकाहरूसम्म सडक पुर्याउन चासोसम्म दिएनन् । त्यसको ज्वलन्त उदाहरण हो, उत्तरी क्षेत्रको सिलिचोङ गाउँपालिका । पाँच वर्षमा गौतमको बेवास्ताकै कारण अरुण नदी पारिको यो गाउँपालिका जोड्ने पुल निर्माणमा सिन्को भाँचिएन । सबै पालिकामा सडक पुर्याउने योजनामा एक सुको पनि केन्द्रीय बजेट छुट्टिएन ।
निर्वाचित भएको एक वर्षभित्रै मानेभञ्ज्याङहेलुवाबेंसी हुँदै अरुण नदीमा फेरी चलाएर गाडीबाटै सिलिचोङ आउजाउको व्यवस्था गरिने उनले ग्यारेन्टी दिएका थिए, भाषणमा । तर, अहिले पनि सिलिचोङका बासिन्दाले मानेभञ्ज्याङबाट पैदलै आफ्नो गाउँ पुग्नुपर्ने बाध्यता कायम छ । गौतमले भने सांसदको रुपमा एक वर्ष होइन, पाँच वर्षे कार्यकाल व्यतित गरिसकेका छन् ।
कतिपय पालिकामा बजेट गयो, तर विकास निर्माणका लागि गएन। सांसद विकास कोषको पैसा खर्च त के भनौं सदुपयोग नै गरेनन् । उनको पालामा पालिका तहमा भ्रष्टाचार मौलायो । न त प्रदेश सांसदहरूले भ्रष्टाचार रोक्न पहल गरेको देखियो, न गौतमले नै ।
२०७४ सालको चुनावको ठ्याक्कै अगाडि सभाखोलालेगुवा र केवाँखोलामाम्लिङ सडक शिलान्यास भएका थिए । सभाखोलालेगुवा सडकका लागि ९४ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । यस्तै, केवाँखोलामाम्लिङ सडकका लागि ६६ करोड रुपैयाँ छुट्याइएको थियो । निर्वाचन आचारसंहिता लागू हुनु अघिल्लो दिन सभाखोलालेगुवा सडकको टेन्डर स्वीकृत भयो। केवाँमाम्लिङ सडकमा भोलिपल्टदेखि आचारसंहिता लागू भएकाले टेन्डर हुन सकेको थिएन।
तत्कालीन एमाले सरकारले संखुवासभामा स्वास्थ्यमा के गर्यो ? हरेक पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्ने निर्णय भएको थियो। कार्यान्वयनमा जाँदा भने १५ को साटो पाँच शय्या मात्र कायम गरियो। अनि एमालेले जितेका पालिकाहरूमा १५ शय्या नै कायम गरियो, कांग्रेसले जितेका पालिकामा पाँच शय्या मात्र दिइयो ।
गौतमले विजय सभाका क्रममा आफ्नो कार्यकालमा किमाथाङ्का सडक खोल्न नसके फेरि भोट माग्नै नआउने बताएका थिए । तर, पाँच वर्ष बित्यो, किमाथांका सडक खुलेन । अझै खुलेको छैन । उनी फेरि निर्वाचित भएमा खुल्ने सम्भावना पनि छैन । उनले भनेका थिए, यो सडक खुलेनछ र यहाँ गाडी कुदेनछ भने म फेरि तपाईंहरूसँग भोट माग्न आउँदिनँ ।’ तर, सडक पनि खुलेन, गाडी पनि कुदेन, गौतम भने फेरि भोट माग्न आएका छन् ।
लेगुवातुम्लिङटार सडक स्तरोन्नतीका लागि प्रक्रिया अगाडि बढेको दाबी गरेका थिए । पर्यटन विकासको आधार तयार पार्न वसन्तपुर, टुटे देउराली, गुफा पोखरी, मिल्के जलजले भएर ताप्लेजुङको ढुंगेसाँघु हुँदै फुङलिङ जोड्ने सडक निर्माण अगाडि बढाइने बताएका थिए । त्यो सडक पनि अलपत्रै छ । मध्यपहाडी लोकमार्गमा त्यो सडक जोड्ने, त्यसलाई तेह्रथुमको संक्रान्ति बजार, गुफापोखरी, चैनपुर, त्यहाँबाट खराङ अनि तुम्लिङटार ल्याएर सीधै भोजपुरको दिङ्ला हुँदै भोजपुर सदरमुकाम जोड्ने गफ दिएका थिए, जुन गफमै सीमित रह्यो ।
ऊर्जा विकासका लागि अरुण नदी जलाधार क्षेत्रमा ११ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न जनताको स्वामित्त्वलाई स्थापित गराउने उनले दाबी गरेका थिए । हरेकको घरमा बत्ति बलेकै हुनुपर्छ भन्ने सिद्धान्तअनुसार हरेक घरमा बिजुली पुर्याउने दाबी गरेका थिए । त्यो पनि अधुरै रह्यो ।
उनले ०७४ सालको आम निर्वाचनमा सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पहिलो बुँदामै विश्वास र इमानदारिताको राजनीति गर्ने बताएका गौतमले माथिका उदाहरणहरुबाटै त्यसलाई आफैंले खण्डन गरेका छन् ।
यस्तै, पाँच वर्षभित्रै धनकुटादेखि किमाथांकासम्मको बाटो पूर्ण निर्माण गर्ने उनको प्रतिबद्धता थियो । तर, त्यो बाटोको अहिलेसम्म टयाकसम्म खुलेको छैन । जिल्लाका सबै स्थानमा बिजुलीको पहुँच पुग्ने बताएका थिए, र्गाैतमले । तर, उत्तरी क्षेत्रका असंख्य स्थानमा अझै बिजुली पुगेको छैन । निर्वाचित भएको वर्षदिन अर्थात् ०७५ भित्रैमा वसन्तपुरदेखि चैनपुरसम्मको बाटो कालोपत्रे भइसक्ने गफ दिएका थिए। उक्त बाटो पाँच वर्ष बितिसक्दा पनि गफमै सीमित रह्यो ।
यस्तै, पाँच वर्षभित्र खानेपानी समस्या भएका पालिकाहरुमा पानीको पहुँच पुर्याउने बताएका गौतमको यो पनि गफमै सीमित रह्यो । पानी पिउन एकदेखि डेढ घण्टासम्म हिँड्नुपर्ने बाध्यता सुक्खाग्रस्त क्षेत्रमा अझै कायम छ ।
नोटका लागि होइन, कामका लागि भोट मागेका गौतमले पाँच वर्षभरिमा आफ्नै लागि मात्र नोट जम्मा गरी भोटको अपमान गरे । उनीमाथि कर्मचारी सरुवा, बढुवालगायत काममा अतिरिक्त लाभ लिने गरेको आरोप लाग्दै आएको छ ।
उनको अर्को प्रतिबद्धता थियो, संखुवासभामा तुरुन्तै कृषि कलेज स्थापना गर्ने । त्यस्तो कलेज संखुवासभाका कुनै पनि पालिका या वडामा स्थापना भएको जिल्लावासीले देखेका छैनन् ।