इंग्ल्याण्ड जित्यो ‘महिला युरोकप-२०२५’को उपाधि

Yangle News
Yangle News
२०८२ साउन १२ गते
इंग्ल्याण्ड जित्यो ‘महिला युरोकप-२०२५’को उपाधि

इंग्ल्याण्डले रोमाञ्चक फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै महिला युरोकपको उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरी भएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।

निर्णायक फाइनलमा युरो २०२२ को वेम्ब्ली फाइनलमा नायक बनेकी क्लोई केली फेरि पनि इंग्ल्यान्डलाई जित दिलाउन निर्णायक बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इंग्ल्याण्डको जित निश्चित गरेकी थिइन् । स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ता गोलरक्षक हाना ह्याम्पटनले दुई वटा बचाउ गर्दै टिमलाई उपाधि दिलाउन उत्कृष्ट योगदान गरिन् ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको यो पहिलो ठूलो उपाधि हो । साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपियन उपाधि जित्दै आफूलाई विश्वको उत्कृष्ट प्रशिक्षकको रूपमा प्रमाणित गरेकी छन् ।

खेलमा अग्रता भने स्पेनले लिएको थियो । पहिलो हाफमा पछि परेको इङ्ल्यान्डले पुनरागमन गर्दै उपाधि जित्यो । पहिलो हाफमा पछि परेर उपाधि उचाल्ने पनि इंग्ल्यान्ड पहिलो टोली बनेको छ ।

इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो । नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएको इंग्ल्यान्डले फेरी एकपट आफ्नो बलियो पुनरागमन छवीलाई स्थापित गर्यो । २५औं मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

तर इंग्ल्याण्डले लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीको पासमा अलेसिया रुसोले ५७ औं मिनेटमा टिमलाई बराबरीमा ल्याउँदै उपाधि होडमा इंग्ल्यान्डलाई कायम राखेकी थिइन् । त्यसपछि थप गोल हुन सकेन र अन्तत पेनाल्टी सुटआउटबाट इंग्ल्यान्ड च्याम्पियन बन्यो ।