भक्तपुर क्यान्सर अस्पतालले विभिन्न सेवा थप गरेको छ । अस्पतालले विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसर पारेर त्यस्ता सेवाहरू थप गरेको हो ।
हरेक वर्ष जुलाई २७ को दिन मनाइने विश्व टाउको तथा घाँटी क्यान्सर दिवस आज (आइतबार) जनचेतना बढाउने उद्देश्यले विश्वभरि नै मनाइएको छ । यसै दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पतालले समयमा नै उपचार र समुदायमा सचेतना फैलाउने उद्देश्यले आज क्यान्सर विजेता र स्वास्थ्यकर्मीहरूको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गर्यो ।
यसका साथै, अस्पतालले आजैदेखि केही सेवाहरू थप पनि गरेको छ । अस्पतालले आजैदेखि दन्त तथा मुख रोग विभाग, स्तन क्यान्सर उपचार गर्न छुट्टै वार्ड सुरु गरेको छ । सो अवसरमा अस्पतालले यसै महिनादेखि मानसिक तथा मनोपरामर्श सेवा पनि सुरु गर्ने घोषणा गरेको छ, जसले बिरामी र आफन्तका विक्षिप्त मनलाई आवश्यक सरसल्लाह दिएर सहजीकरण गरिने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले बताए ।
त्यस्तै, अस्पतालले प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरीका लागि सुष्मा कोइराला अस्पतालसँग सहकार्य गरेको छ, जसले जटिल किसिमका मुख, घाँटी, स्तनलगायतका अपरेसन गरेपछि शरीरको त्यो भागलाई पहिलेजस्तै दुरुस्तै बनाउन सकिने अस्पतालको भनाइ छ ।
त्यस्तै, अस्पतालले मुख, जिब्रो र घाँटीको अपरेसन रेडिएसनपछि खाना निल्न या बोल्नलाई असहजता हुने भएकाले सोको निराकरण गर्न स्पिच एन्ड स्वालोविङ थेरापिसमेत सुरु गरेको छ । आजदेखि नै भक्तपुर क्यान्सर अस्पतालले पहिलोपटक दन्त उपचार सेवा (डेन्टल ओपीडी) पनि सुरु गरेको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले एमडीएस डाक्टर उपलब्ध गराइदिएको अस्पतालले जनाएको छ ।
नेपालमा टाउको तथा घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ । यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने र सुरुमा पत्ता लागे उपचार सम्भव हुने खालका छन् । तर, जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो गरी अस्पताल आउने गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले बताए ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. चालिसेले टाउको तथा घाँटी क्यान्सरविरुद्ध सबै सरोकारवालाहरू सरकार, स्वास्थ्यकर्मी, गैरसरकारी संस्था, सञ्चारमाध्यम सबैलाई आह्वानसमेत गरे ।