हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

Yangle News
Yangle News
२०८२ माघ ६ गते
हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

 

सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन् ।

कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमान्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे ।

हिमालयन च्यालेन्जर्समा शीर्ष वरीयताका अभिकले भने, ‘ब्लिज र र्यापिड चेस चलेको यो बेला क्लासिकल चेसको प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा हो । मैले पहिलोपल्ट लगातार नौ दिन खेल्न पाएँ । सबै खेल जितेपनि प्रतिस्पर्धा रोचक रह्यो । म र अरु युवा खेलाडीको स्तरबृद्धिको लागि क्लासिकल चेस महत्वपूर्ण छ र हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ ।’ १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन् ।

स्वीस लिग प्रणाली अनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनोती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अंक जोडेर उपाधि कब्जा गरेका हुन् । उनले लगातार जितसहित अन्तिम खेल बाँकी छँदै उपाधि पक्का गरिसकेका थिए ।

निहाना महिलामा प्रथम

महिलातर्फ निहाना श्रेष्ठ (१५ अंक) पहिलो भइन् । समान १५ अंक जोडेपनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यू ८ तर्फ विराज सरिया (३ अंक), यू १० मा शुभांग प्रधान (१५ अंक), यू १२ मा हार्दिक पन्त (१७ अंक), यू १४ मा प्रवीर केसी (१८ अंक) र यू १६ मा विमश लोहनी (१७ अंक) प्रथम भए । अरिज राई (५ जित र ४ हारसहित १५ अंक) ले इमर्जिङ प्लेवरको अवार्ड प्राप्त गरे ।

कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागि थिए । प्रतियोगिता हिमालयन चेस एकेडेमीले आयोजना गरेको थियो ।