तीन महिना यताकै उच्च विन्दुमा नेप्से परिसूचक

Yangle News
Yangle News
२०८० जेष्ठ ३१ गते
तीन महिना यताकै उच्च विन्दुमा नेप्से परिसूचक

उतारचढावका बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले बढेर भएर बन्द भएको छ । साताको चौथो कारोबार दिन आज सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम आधा घण्टामा तीव्र उतारचढाव देखिएको थियो । उतारचढाव बीच नेप्से १६.४२ अंकले वृद्धि हुँदा २०३७.०६ अंकमा पुगेको छ । बुधबार नेप्से १० फागुन यताकै उच्च विन्दुमा पुगेको हो ।

१० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घटेर १ जेठको ‘इन्ट्रा–डे’ मा १८०७.५३ अंकसम्म झरे पुनः उकालो लागेको थियो । पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १ सय ३५ अंक भन्दा बढीको वृद्धि भइसकेको छ ।

‘इन्ट्रा–डे’ मा नेप्से मंगलबारको क्लोजिङ विन्दुबाट ४६ अंक भन्दा माथिले वृद्धि भई २०६७.१० अंकको उच्च विन्दु कायम गर्दा २०१५.१९ अंकसम्म झरेको थियो ।

करिब ५२ अंकको उतारचढाव भएको नेप्सेमा होटल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, लगानी निर्जीवन बीमा व्यापार उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त र जीवन बीमा उपसूचकमा वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेर बन्द भएको हो ।

बुधबार अन्य उपसूचक सर्वाधिक २.३५ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.७३ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५८ प्रतिशत र बैंकिङ उपसूचक १.२९ प्रतिशतले वृद्धि भएका छन् । विकास बैंक उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक र व्यापार उपसूचक ०.७७ प्रतिशत गिरावट भएको छ ।

नेप्से मात्रै नभएर कारोबार रकम पनि पछिल्लो केही दिन यता लगातार बढ्दै गएको छ । मंगलबार ५ माघ २०७९ यताकै बढी रकमको कारोबार भएकोमा बुधबार थप बढेर ५ अर्ब नाघ्दा २८ पुस यताकै उच्च रकमको कारोबार पुगेको छ । बुधबार नेप्सेमा ७९ हजार ४६१ वटा कारोबारमा १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।

247 views