बंगलादेशमा आमनिर्वाचनका लागि कार्ययोजना सार्वजनिक

Yangle News
Yangle News
२०८२ भदौ १३ गते
बंगलादेशमा आमनिर्वाचनका लागि कार्ययोजना सार्वजनिक

बंगलादेशको प्रमुख निर्वाचन आयोगले आगामी वर्षको फेब्रुअरीमा हुने आमनिर्वाचनका लागि कार्ययोजना सार्वजनिक गरेको छ ।

निर्वाचनको मिति घोषणा हुनुभन्दा कम्तीमा ६० दिनअघि पूर्ण तालिका सार्वजनिक गरिने आयोगले जनाएको छ । कार्ययोजनाअन्तर्गत सेप्टेम्बरको अन्त्यसम्ममा राजनीतिक दल र अन्य सरोकारवालाहरूसँग छलफल सम्पन्न गर्ने लक्ष्य छ । यो प्रक्रिया करिब डेढ महिनासम्म चल्नसक्ने बताइएको छ । आयोगले फेब्रुअरीको पहिलो १५ दिनभित्र निर्वाचन गराउने लक्ष्य लिएको छ । निर्वाचनको आधिकारिक घोषणा डिसेम्बरको दोस्रो वा तेस्रो हप्तामा हुने बताइएको छ ।

यो कार्ययोजना अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसको निर्देशनमा तयार पारिएको हो । जसलाई बुधबार आयोगले अनुमोदन गरेको थियो । कार्ययोजनामा २४ वटा प्रमुख कार्यलाई प्राथमिकता दिइएको छ । यसमा लोक प्रतिनिधित्व आदेश (आरपीओ) र निर्वाचन क्षेत्र निर्धारण ऐनमा संशोधन, मतदाता सूची ऐन र निर्वाचन अधिकारी (विशेष प्रावधान) ऐन १९९१ मा सुधार, निर्वाचन आयोग सचिवालय ऐन २००९ को समीक्षा छन् । यस्तै चरणबद्ध रूपमा मतदाता सूचीलाई अन्तिम रूप दिने, स्वदेशी-विदेशी निर्वाचन पर्यवेक्षक र पत्रकारहरूका लागि निर्देशिका निर्माण तथा नयाँ राजनीतिक दलहरूको दर्ताजस्ता विषय समावेश छन् ।

तर, कार्ययोजना घोषणा गरेसँगै राजनीतिक विवाद सुरु भएको छ । विद्यार्थी आन्दोलनबाट जन्मेको नयाँ दल नेशनल सिटिजन पार्टी (एनसीपी)ले यसमा आपत्ति जनाएको छ । एनसीपीले सरकारले आफ्नो वाचा तोडेको आरोप लगाएको छ । गत वर्ष व्यापक विरोध प्रदर्शनमार्फत शेख हसिनाको सरकारलाई सत्ताबाट हटाउने विद्यार्थी आन्दोलन (एसएडी)बाट नै एनसीपीको उदय भएको हो । एनसीपीले नयाँ संविधानसभा गठन गरी सन् १९७२ को संविधानलाई प्रतिस्थापन गर्न नयाँ संविधान बनाउनुपर्ने माग राखेको छ ।

सदनमा आफ्नो प्रतिनिधित्व बढाउन समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत निर्वाचन गराउन जमात-ए-इस्लामीले माग गरेको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले पूर्वप्रधानमन्त्री शेख हसिना र उनका सरकारका नेताहरूविरुद्धका मुद्दाहरूको छिटो किनारा लगाउनुपर्नेमा जोड दिएका छन् ।