आज राति तारा खस्ने वा उल्कावर्षा हुने

Yangle News
Yangle News
२०८० मंसिर २८ गते
आज राति तारा खस्ने वा उल्कावर्षा हुने

 

बिहीबार राति यस वर्षकै उत्कृष्ट उल्कावर्षा देखिन सक्ने सम्भावना रहेको खगोलविद्हरूले जनाएका छन् । यो वर्ष मंसिर १८ देखि सुरु मिथुन उल्कावर्षा पुस १ गते सम्म सक्रिय रहनेछ । तर उल्कावर्षाको अत्यधिक सक्रियता भने आज राति रहने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिनेछ । प्रतिघण्टा १२० देखि १५० सम्म देखिन सक्छ ।

अधिकतम १५० सम्म देखिएको छ । तर त्यसलाई भने तपाईंले कुन ठाउँबाट हेर्नुहुन्छ भन्ने कुराले निर्धारित गर्छ, भट्टराईले भने । उज्यालो र प्रदूषणले पनि उल्का वर्षा हेर्ने कुरालाई प्रभावित पार्ने उनको भनाइ छ । उज्यालो सहरबाट भन्दा बत्ती कम बल्ने गाउँ र पहाडी क्षेत्रबाट उल्का वर्षाको मनोरम दृश्य हेर्न सकिने उनी बताउँछन् । प्रकाश प्रदूषणका कारण धमिला उल्का वर्षाहरू नदेखिने उनले बताए । आकाशमा जेमिनाई अर्थात् मिथुन राशिबाट आएको जस्तो देखिएकाले उक्त उल्का वर्षालाई खगोलविद्हरूले जेमिनिड्सु नाम दिएका छन् ।

यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटरमाथि जलेर देखिँदै छ । सूर्यको परिक्रमा गर्ने क्रममा यो पुच्छ्रे ताराले आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छाड्ने गर्छ । पृथ्वीले पनि सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे ताराले छाडेको कण र चट्टानहरु नजिकै आउँछ । यसरी ती कण तथा चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । ठोक्किएर जलेका ती वस्तुहरुलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपालमा ‘तारा खसेको’ पनि भन्‍ने गरिन्छ ।

उल्कावर्षा हेर्न चाहने सर्वसाधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदूषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन् । अवलोकनको लागि मंसिर २८ राति ८  बजे देखि भोलिपल्ट बिहान ५ बजेर ३० मिनेटसम्मको समय अनुकूल हुने पनि नासोले जनाएको छ ।

उल्कावर्षा सामान्यतया मध्यरातपछि हेर्दा उत्तम रहने भट्टराईले बताए । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ। उल्कावर्षा हेर्नलाई कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता नपर्ने पनि खगोलविद्हरूको भनाइ छ ।