तमु ल्होसारको महत्त्व र परिचय

Yangle News
Yangle News
२०७९ पुस १५ गते
तमु ल्होसारको महत्त्व र परिचय

नेपालको विभिन्न राष्ट्रिय चाड पर्वहरु दशैं, तिहार, छट, सकेला, ल्होसार जस्तै तमू गुरुङहरुको महान पर्व ल्होछार परम्परागत रुपमा मनाउँदै आईरहेको तमु संस्कृतिमा आधारित पर्व हो।

तमु ल्होछार बिशेष गरी नेपाली पात्रोअनुसार पुष १५ का दिन मनाउने चलन छ। तमू भाषामा ल्हो (बर्ग) र छार (नयाँ) भन्ने जनाउँदछ। पुरानो बर्गलाई बिदाई गर्दै नयाँ ल्हो बर्ग को आगमनको उपलक्ष्यमा नयाँ बर्षकोरुपमा यो चाड मनाईन्छ।

तमूहरुको यस महान चाड ल्होछारको उपलक्ष्यमा तमूहरुले एक अर्काप्रति आँशिमाला शुभकामना आदानप्रदान गर्ने चलन छ। तमुहरुमा कुन सालमा जन्मेकोभन्दा पनि कुन ल्हो हो भन्ने कुरामा उमेरको गन्ति गर्दछ साथै बिबाह, शुभ कामहरुको थालनी गर्दा पनि प्रायजसो ल्हो नै हेराएर गरिन्छ।

ग्रह, राशि, तिथि, नक्षेत्र आदिमा ज्योतिषशाश्त्र आधारित भए जस्तै सांकेतिकरुपमा बाह्र थरिका विभिन्न पशुपन्छीको नाउँबाट नामकरण गरिएको तमू बर्गचक्र ल्होकोरमा तमू क्यालेन्डर आधारित छ। १२ बर्षमा एक बर्गचक्र पुरा हुन्छ। १२ ल्होहरु गरुड गिद्ध (मुप्रील्हो), सर्प (सप्रील्हो), घोडा (तल्हो), भेंडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा (च्यल्हो), कुकुर (खिल्हो), म्रिग (फोल्हो), मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो) र बिरालो (ह्यूल्हो) बर्ग छन्।

तमू क्यालेन्डरअनुसार प्रत्येक बर्ष पौष १५ मा वर्ग परिबर्तन हुन्छ। तमूहरु समूदायमा बस्ने र प्राकृतिक स्वाभावको भएकोले ल्होछार पनि सामुहिकरुपमा मिलेर मनाउँछन्। बिशेष गरि पौष १४, १५ र १६ तिन दिनसम्म समाजघर अथवा कुनै फराकिलो ठाउँमा सामुहिकरुपमा खाना खाने, तमू मौलिक सांस्कृतिक नाँचगान, खेलकूद गर्ने, समाजका मान्यजनहरुबाट आशिर्बाद लिने, समाजका युवाबर्गलाई हौसला बढाउँने साथै समाज र राष्ट्रप्रति योगदान पुर्याउँने व्यक्तिहरुलाई राम्रो कामको प्रसंसा गर्दै सम्मान गरिन्छ।

343 views