६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता नदेखिएको सीआईबीको निष्कर्श

Yangle News
Yangle News
२०८१ असार १७ गते
६० किलो सुन तस्करीमा दिपेश पुनको संलग्नता नदेखिएको सीआईबीको निष्कर्श

६० किलो सुन तस्करी प्रकरणमा संलग्नता नभेटिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई प्रतिवादी बनाउन नपर्ने निष्कर्ष निकालेको छ । गत वर्ष साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन तस्करी प्रकरणको अनुसन्धानमा दिपेशको संलग्नता नभेटिएको सीआईबीले जनाएको छ ।

सोही आधारमा दिपेश पुनलाई प्रतिवादी नबनाइएको सीआईबीको भनाइ छ । यस प्रकरणमा नेपाली, भारतीय र चिनियाँसमेत गरी २६ जना अझै फरार रहेका छन् भने सीआईबीले २० जनालाई पक्राउ गरेको छ ।

यसैबीच, सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी यसबीचमा ब्रेकसू र इलेक्ट्रोनिक सामानमा गरी करिब ३२ क्विन्टल सुन तस्करी भएको तथ्य सार्वजनिक गरेको छ ।

अवैध सुन तस्करीका क्रममा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो–पे प्रयोग भएको सिआईबीले जनाएको छ । सुन तस्करीका क्रममा यी डिजिटल वालेटबाट ५५ खर्ब ७९ करोड रुपैयाँ बढी भुक्तानी भएको रहस्य खुलेको हो ।

नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिरहेको भेटिएको सीआईबीले सार्वजनिक गरेको हो ।