मेटा कम्पनीले दश हजार कर्मचारी कटौती गर्दै

Yangle News
Yangle News
२०७९ चैत्र १ गते
मेटा कम्पनीले दश हजार कर्मचारी कटौती गर्दै

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मालिक कम्पनी मेटाले आफ्ना १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । साथै कम्पनीमा ५ हजार कर्मचारीको दरबन्दीट खालि राखिने छ । गत नोभेम्बरमा मेटाले ११ हजार कर्मचारी कटौती गरेको थियो ।

सन् २०२२ मा मेटा कम्पनीको आम्दानीमा ब्यापक गिरावट आएको थियो ।  अमेरिकामा बढ्दो ब्याजदर, अस्थिर विश्व बजार र धेरै नियामक कानून यसको कारण रहेको मेटा कम्पनीका प्रमुख एवंम् संस्थापक मार्क जकरवर्गले बताएका छन् । कर्मचारीका लागि जकरवर्गले दिएको सन्देशमा भनिएको छ, ‘नविन आर्थिक अवस्थासँग जुध्न हामी तयार रहनुपर्छ, किनकी मेरो आकलनमा यो अवस्था केहि समय चल्ने छ । ’ यो निर्णय निकै कठिन तर आवश्यक रहेको जकरवर्गको भनाई छ ।

मेटा जस्तै पछिल्लो समय अरु दुई ठूला कम्पनीहरु अमेजन र गूगल पनि कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । अंग्रेजी बर्षको सुरवातमै अमेजनले आफ्ना १८ हजार दरबन्दी कटौती गर्ने घोषणा गरेको थियो । कोरोना महामारी र अस्थिर अर्थतन्त्रलाई अमेजनले कारण बताएको थियो । गूगलको अपरेटिङ कम्पनी अल्फाबेटले पनि १२ हजार दरबन्दी कटौती गरेको थियो । विश्वका ठूला तथा विभिन्न कम्पनीमा रहेका दरबन्दीहरु सम्बन्धी अध्ययन गर्ने एक वेबसाईटले यो वर्षको सुरवाती महिनामा विश्वभरका टेक्नोलोजीसम्बन्धी कम्पनीहरुमा कार्यरत १ लाख २८ हजार कर्मचारी निकालिएको छ ।

 

352 views