अपरेसन सिन्दूर : २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

Yangle News
Yangle News
२०८२ बैशाख २४ गते
अपरेसन सिन्दूर : २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो । भारतले स्थानीय समयानुसार, बुधबार बिहान १ बजेपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो । भारतले यस आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।

केही दिनअघि भारतको कश्मीरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई पाकिस्तानले साथ दिएको र आत्मरक्षाका लागि आतंकवादीको सेल्टरमा आक्रमण गरिएको भारते जनाएको छ ।

भारतले पाकिस्तानको कश्मीर र पंजाबका भू-भागमा गरेको सैन्य कारबाहीपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् । भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।

चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ । ‘भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् । र, दुवै चीनका पनि छिमेकी हुन्,’ चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

भारतका लागि इजरायलका राजदूत रुवेन अजरले भारतीय सेनाको ‘अपरेसन सिन्दूर’प्रति प्रतिक्रिया जनाएका छन् । गए राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् ।