विधानसभा चुनावको नतिजापछि भारतको पश्चिम बंगाल राज्यमा हिंसा भड्किएको छ । चुनावी नतिजापछि पश्चिम बंगालमा शुरू भएको हिंसा सन् २०२१ को विधानसभा चुनावपछि भएको हिंसाको पुनरावृत्तिजस्तो देखिएको जनाइएको छ ।
ठूलो संख्यामा केन्द्रीय बल परिचालनका कारण चुनाव धेरै हदसम्म हिंसामुक्त रहेको थियो । तर चुनाव नतिजापछि राज्यका विभिन्न भागहरूमा भड्किएको हिंसामा कम्तीमा चार जनाको ज्यान गएको र अन्य धेरै घाइते भएका खबरमा उल्लेख छ ।
धेरै ठाउँमा तृणमूल कांग्रेसको कार्यालयहरूमा आक्रमण, आगजनी, तोडफोड तथा पार्टी समर्थक र कार्यकर्ताहरूको घरमा आक्रमणका घटना भएका छन् । अस्ति रातिदेखि शुरू भएको हिंसापछि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले राज्यका शीर्ष प्रहरी र प्रशासनिक अधिकारीहरूलाई हिंसामा संलग्नहरूलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।
यसैबीच तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जीले भारतीय जनता पार्टी (भाजपा)माथि राज्यभर हिंसा फैलाएको आरोप लगाएका छन् । भाजपाले भने यी हिंसात्मक घटनाहरूमा कुनै पनि पार्टी कार्यकर्ता वा समर्थक संलग्न नभएको दाबी गरेको छ ।
पश्चिम बंगालमा भएको विधानसभा चुनावमा भाजपाले सत्तारूढ तृणमूल कांग्रेसलाई हराउँदै स्पष्ट बहुमत ल्याएको थियो । पश्चिम बंगालमा सन् २०११ देखि निरन्तर सत्तामा रहेको मुख्यमन्त्री ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसलाई हराउँदै भाजपाले पहिलो पटक सरकार बनाउन लागेको छ ।