साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन् । सबै क्लबहरुले साफ महिला क्लब च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने जनाएका छन् ।
च्याम्पियनसिप अघि बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपालका एपीएफ महिला फुटबल टिमकी कप्तान अनिता बस्नेतले नेपालमा पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप हुन लागेकोमा उत्साहित रहेको र जितको लक्ष्यका साथ तयारी भएको बताइन् । त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले आन्तरिक प्रशिक्षण धेरै नभएपनि अन्य खेलहरू धेरै नै खेलेकाले खेलाडीहरू तयार रहेको बताए ।
त्यस्तै अन्य क्लबका प्रशिक्षक तथा कप्तानहरूले राम्रो तयारी भएकाले राम्रो नजिता आउने जनाएका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार हुने पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसबीच र दोस्रो खेलमा एपीएफ क्लबले नसरिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् ।