राजावादीहरूको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । काठमाडौंको नारायण चौर क्षेत्रबाट उनी पक्राउमा परेका हुन् ।
निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापासँगै अन्य प्रदर्शनकारीहरू पनि पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार पक्राउ पर्नेमा शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिना रहेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए । उनले कमल थापालाई ससम्मान फिर्ता नगरे सोमबारबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए । आफूहरूको भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्न आग्रह गर्दै उनले अब एकैपटक ५० स्थानबाट प्रदर्शन निकाल्ने बताए । अध्यक्ष लिङ्देनले जनताले विकल्प खोजेकै कारण देश आन्दोलनमय भएको जिकिर गरे ।
राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ । आफूहरूको मुद्दा स्थापित नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन् । उनीहरूले राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको मागसहित आन्दोलनमा उत्रिएका हुन् ।