सुनचाँदी व्यवसायी र पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता

Yangle News
Yangle News
२०८० साउन ६ गते
सुनचाँदी व्यवसायी र पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता

नेपाली सुनचाँदी व्यवसायीले नेपालमा बनेका मौलिक गहनाको अन्तर्राष्ट्रियकरण गर्न निकै सास्ति बोहोर्नु परिरहेको भन्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा सुनचाँदी व्यवसायका समस्या, सरकारको कर नीति र नेपाली भन्सारमा नेपालका गहना विदेश पठाउने सवालमा हुने गरेका झन्झटिला प्रकृयाका विषयमा छलफल भएको थियो ।

 

Yangle News

 

नेपाल सुनचाँदीकला व्यवसायी संघका केन्द्रीय सदस्य एवम् शुभगुरु फाउन्डेसनका अध्यक्ष सूर्य कुमार बराल, व्यवसायीहरु सुनिता पाण्डे, धिरजजंग बस्नेत,  सुरज पाण्डे, रामप्रसाद ओझा लगायतको टोलीले वर्तमानमा सुनचाँदी व्यवसाय र यसको यथार्थकाबारेमा ओलीसँग छलफल गरेका हुन । उनीहरुले अपर्याप्त कच्चा पदार्थका वाबजुद पनि सुनचाँदी व्यवसायबाट नेपालभित्र वार्षिक ५० अर्बको कारोबार हुने गरेको बताए । यस्तै नेपाली मौलिक गहनाको विदेशमा रहेका नेपाली माझ उच्च माग रहेको छ । जसबाट वार्षिक २ अर्ब डलरको कारोबार गर्न सकिने व्यवसायीले बताएका छन् ।

२२ हजारभन्दा बढि व्यवसायी र दक्ष र अदक्ष गरि करिब २ लाख कामदार यस क्षेत्रमा कार्यरत छन् । पछिल्लो समय नेपालीहरु बसोबास गर्ने विदेशी भूमिमा नेपाली मौलिक गहनाको उच्च मागलाई ध्यानमा राखेर नेपालमा निर्मित गहना निकासीमा सरकारले सहज नीति लिनु पर्ने व्यवसायी बताउँछन् । सुनचाँदी क्षेत्रमा लगाइएको कोटा प्रणाली, भन्सार महसुलमा पुनर्विचार र अवैध निर्यात रोक्न सरकारीस्तरबाटै पहल हुनुपर्ने उनीहरुको भनाई थियो ।

Yangle News

जवाफमा पूर्वप्रधानमन्त्री ओलीले हाल सुनको व्यवसायमा विश्वको ध्यान खिचिरहेको दुबईको जस्तो नेपाली सुनचाँदी बजारलाई पनि बनाउन केहि नीतिगत परिवर्तन आवश्यक रहेको आफूले पनि महसुस गरेको बताए । साथै उनले नेपाली मौलिक पहिचान झल्किने कलाको जगेर्नामा समेत भूमिका खेल्नसक्ने यो व्यवसायमा लागेकाहरुले पनि देशको नीतिनियमको पनि ख्याल गर्नुपर्ने सुझाव दिए ।