१६ जिल्लामा भेटिए दादुरा सङ्क्रमित

Yangle News
Yangle News
२०८० जेष्ठ ३१ गते
१६ जिल्लामा भेटिए दादुरा सङ्क्रमित

 

दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप देखिएको हो ।

ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी प्रभावित छन् । कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका–२ र ५ मा दादुराको प्रकोप बढेको छ ।

ती स्थानीय तहका ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगङ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुरा विरुद्धको खोप लगाइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि   सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप अभियान शुरु गरेको छ ।

दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्रगतिले फैलिनाका साथै  मृत्युदर पनि उच्च रहेको छ । एकजना दादुरा सङ्क्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ ।

मन्त्रालायले यसअघि जतिपटक खोप लगाएपनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ ।  महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था तथा निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाउँदै ती स्वास्थ्य संस्था तथा निजी अस्पताललाई दादुराका बिरामीको विवरण नगरपालिका र स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यस्तै दादुराको निगरानीका लागि सबै जिल्ला र नगरपालिका स्रोत व्यक्तिलाई संवेदनशिल हुनसमेत महाशाखाले अनुरोध पनि गरेको छ ।

286 views