हमासले बुझायो विपिन जोशीसहित ४ जनाको शव, डीएनए परीक्षणको तयारी

Yangle News
Yangle News
२०८२ अशोज २८ गते
हमासले बुझायो विपिन जोशीसहित ४ जनाको शव, डीएनए परीक्षणको तयारी

प्यालेस्टाइनको लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार राति इजरायललाई हस्तान्तरण गरेको छ ।

बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ । हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो ।

हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको हो ।

विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको र शवको डीएनए परीक्षणको तयारी भइरहेको राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनका अनुसार अमेरिकामा रहेका विपिनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल बोलाएर शव हस्तान्तरणको तयारी गरिएको छ । परिवारको जिम्मा लगाएपछि विपिनको शव नेपाल ल्याउने तयारी गरिनेछ ।

सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुगेका थिए ।

यसअघि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताएका थिए ।

२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए ।

२०५७ मा बैतडीको तत्कालीन विजयपुर गाविस (हालको पुर्चौडी नगरपालिका-१०)मा जन्मिएका विपिन बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा थिए ।

विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिचको युद्ध रोकिएपछि हमासले बन्धक बनाइएर राखेका ४८ जनामध्ये २० जना जीवितलाई सोमबार रिहा गरेको छ । हमासले दुई चरणमा अन्तर्राष्ट्रिय रेडक्रसलाई २० जना जीवित बन्धक जिम्मा लगाएको हो ।