तिहार नजिकिएसँगै पुष्प व्यवसायीलाई सयपत्री र मखमली फूल टिप्ने चटारो

Yangle News
रासस
२०७९ अशोज ३१ गते
तिहार नजिकिएसँगै  पुष्प व्यवसायीलाई सयपत्री र मखमली फूल टिप्ने चटारो
Farmers carry Cempasuchil flowers used in the "Day of the Dead" season to decorate altars and tombs in Atlixco, Mexico, on October 22, 2021. (Photo by JOSE CASTANARES / AFP)

Yangle News

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिक रुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताए ।

उनले भने,“गएको वर्षमा भन्दा यसपाली फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपाली बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फुलहरू समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।”

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरन्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गीन फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ ।

 

भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिक रुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुन्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमाला बताउँछिन् ।

पुख्र्यौली पेशा नै फूल व्यवसाय गर्दै आएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताइन् । तिहारमा प्लाष्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनमाला बताउँछिन् ।

“विभिन्न आधुनिक प्लाष्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बिउका रुपमा पुनः प्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो”, वनमालाले भनिन् ।

भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्प गुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा र कार्नेश फूलखेती गरेको देखिन्छ ।

भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांश सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् ।

283 views