मनसुन ढिलो सुरु भएकाले यो वर्ष रोपाइँमा ढिलाइ

Yangle News
Yangle News
२०८० असार २० गते
मनसुन ढिलो सुरु भएकाले यो वर्ष रोपाइँमा ढिलाइ

समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । देशभरको धान रोपाइँको विवरण संकलन गर्ने कृषि विभाग अन्तर्गतको बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रकाअनुसार गत वर्ष २२ असार र अहिलेको १७ असारसम्मको विवरण हेर्दा २७ प्रतिशत कम क्षेत्रफलमा कम मात्रामा रोपाइँ भएको पाइएको छ ।

यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन २२।०२ प्रतिशत मात्रै हो । गतवर्ष यस अवधिमा ४० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा रोपाइ भइसकेको थियो । यस अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा झण्डै आधा क्षेत्रफलमा रोपाइँ सकिएको छ भने धान धेरै फल्ने मधेशमा निकै कम मात्रामा रोपाइँ भएको छ ।

कृषि विभागले मनसुनमा भएको ढिलाइ कारण यो वर्ष रोपाइँ केही ढिलो भएको देखिएको बतायो ।

तर, रोपाइँका लागि पर्याप्त समय भएको र मनसुन पनि सक्रिय रहेका कारण किसानहरु आत्तिनु पर्ने अवस्था छैन । खडेरीका कारण बिउ राख्न केही ढिलाइ भएकाले पनि किसानहरुले बिस्तारै धान रोपाइँ गरिरहेका छन् ।

विभागका महानिर्देशक हरिबहादुर केसी मनसुन ढिलाइले रोपाइँ धकेलिए पनि रोपाइँमा कुनै किसिमको अप्ठ्यारो हुने अवस्था नरहेको बताउँछन् ।

पहाडी जिल्लामा पर्याप्त पानी परेका कारण रोपाइँ राम्रोसँग भएको र तराईको क्षेत्रमा रोपाइँ गर्ने समय रहेको उनको भनाइ छ ।

मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा पनि किसानहरु रोपाइँ तयारीमा जुटेका कारण केही दिनमा रोपाइँ विवरणमा वृद्धि हुने विभागको अनुमान छ ।