उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले ‘लोडसेडिङ भयो’ भन्ने चर्चा सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला मात्र भएको बताएका छन । मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी आजैबाट भारततर्फ निर्यात शुरु भएको जानकारीसमेत दिएका छन् ।
प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनका अनुसार ले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरु भएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताए ।
मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको बताए ।
मंगलबार मध्यरातिदेखि भारतमा ७ सय ३१ मेगावाट विद्युत बिक्री गरि सकिएको प्राधिकरणले पुष्टि गरेको छ । मन्त्री खड्काले पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा दिएका छन् ।
उनले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक-पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाउँदै त्यस्ता कुराको कुनै तथ्य नपाइएको बताए । उनका अनुसार सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएको मात्र हो ।
उनले भने, ‘विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट । बत्ती गयो भन्ने गुनासो गर्छन्, तर हामीले जब सो स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौं । यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ ।’
मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गर्दै लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको जिकिर गरे । उनले, ‘हामीसँग अहिले विद्युत् उत्पादन, आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ । यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो ।’
मन्त्री खड्काका अनुसार विगतका वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो । कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटिका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरे ।
मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए । उनले सामाजिक सञ्जालमा यथार्थविपरीत सूचना नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न अनुरोध गरे । ‘हल्ला होइन, तथ्यमा विश्वास गर्नुस् । हामी उत्पादन बढाउँदैछौं, आपूर्ति सन्तुलनमा छ र लोडसेडिङको कुनै खतरा छैन,’ उनले भने ।