६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण

Yangle News
Yangle News
२०८२ असार २० गते
६० हजारलाई डेंगु संक्रमण हुनसक्ने प्रक्षेपण

यो वर्ष ६० हजारभन्दा बढी लाई डेंगु संक्रमण हुन सक्ने प्रक्षेपण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । महाशाखाले डेंगु प्रकोपबाट ६० हजारभन्दा बढी बिरामी हुनसक्ने अनुमान गर्दै त्यसअनुसारको कार्ययोजना तयारी समेत गरिसकेको दाबी गरेको छ ।

डेंगु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेंगु सङ्क्रमण तीव्र गतिमा फैलिने सक्ने हुँदा सचेत रहन किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालको सुझाव छ । साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु संक्रमण बढ्ने उच्च जोखिम रहेको उनले बताए । उनका अनुसार हालसम्म ७३ जिल्लाबाट १६ सयको हारहारीमा डेंगु संक्रमण पुष्टि भएको छ । ४० देखि ८० प्रतिशत बिरामी उपचारको दायरामा नआउने उनी बताउँछन् ।

उनका अनुसार तथ्यांकमा डेंगु संक्रमण कम देखिएको छ तर १० हजारभन्दा बढी बिरामी उपचारको दायरामा आएका छैनन् । ‘संक्रमण फैलिने सम्भावना उच्च छ । डेंगु बढ्ने अनुमानका साथ कार्ययोजना तथा प्रदेशसँग समन्वय गरी डेंगु नियन्त्रण गर्ने तयारी गरिएको छ । यो आर्थिक वर्षका लागि डेंगु नियन्त्रण गर्न करिब १० करोड बजेट विनियोजन छ,’ उनले भने ।

बढी संक्रमित बागमतीमा, सातामै ७१ जना थपिए

महाशाखाका अनुसार हालसम्म कुल १ हजार ६ सय ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा मात्रै ७१ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा धेरै २० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्णालीमा सबैभन्दा कम १ जना मात्र पुष्टि भएका छन् । बागमती प्रदेशमा ४०४ जना, गण्डकीमा ३५८ जना, कोसी प्रदेशमा ३३४, लुम्बिनी प्रदेशमा २७८, सुदूरपश्चिममा २३२, कर्णालीमा ३६, मधेस प्रदेशमा ३१ जना संक्रमित रहेका छन् ।

गत वर्ष ५० हजारमा संक्रमण, १५ को मृत्यु

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्याङ्क अनुसार गत वर्ष ४५ हजार भन्दा बढीलाई डेंगु संक्रमण भएको थियो । संक्रमणबाट हालसम्म १५ जनाले ज्यान गुमाएका थिए ।