चिनियाँ कोस्ट गार्डद्वारा फिलिपिनी जहाजमा ठक्कर

Yangle News
Yangle News
२०८२ अशोज २७ गते
चिनियाँ कोस्ट गार्डद्वारा फिलिपिनी जहाजमा ठक्कर

चिनियाँ कोस्ट गार्डको जहाजले दक्षिण चीन सागरको विवादित क्षेत्रमा आइतबार फिलिपिनी सरकारी जहाजलाई शक्तिशाली पानीको फोहराले प्रहार गर्दै ठक्कर दिएको छ ।

उक्त ठक्करबाट जहाजमा सामान्य क्षति पुगेको फिलिपिन्स कोस्ट गार्डले जनाएको एपी समाचार एजेन्सीले बताएको छ  । चिनियाँ कोस्ट गार्डले फिलिपिन्सको नियन्त्रणमा रहेको थिटु टापुनजिकै पाग्बुवायालाई निशाना बनाएको बताइएको छ । फिलिपिनी माछा मार्ने व्यक्तिहरूलाई सहयोग गर्ने मत्स्यपालन फ्लिटको ‘बिएरपी दातु पाग्बुवाया’ नामक जहाजका चालक दलका सदस्यहरूलाई चोटपटक भने नलागेको समाचारमा उल्लेख छ ।

यो घटना मनिला, बेइजिङ र अन्य देशबीच लामो समयदेखि जारी क्षेत्रीय विवादको पछिल्लो झडपका रूपमा देखा परेको हो । चिनियाँ कोस्ट गार्डले फिलिपिनी जहाजहरू थिटु र चीनको सुबी नामक कृत्रिम टापु बेसको बीचमा रहेको स्यान्डी के भनिने बालुवाको थुप्रोनजिकको चिनियाँ जलक्षेत्रमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोप लगाएको छ । फिलिपिनी जहाजहरूले चिनियाँ पक्षबाट बारम्बार दिइएका कडा चेतावनीहरूलाई बेवास्ता गरेको दाबी पनि गरेको छ । चिनियाँ कोस्ट गार्डले उनीहरूले कानुनअनुसार नियन्त्रणका उपायहरू अपनाउँदै फिलिपिनी जहाजहरूलाई दृढतापूर्वक पछाडि धपाएको बताएको छ ।

चीनले प्रमुख व्यापार मार्ग रहेको लगभग सम्पूर्ण दक्षिण चीन सागरमा आफ्नो सार्वभौमिकता र नियन्त्रणको दाबी बारम्बार दोहोर्‍याउँदै आएको छ । यद्यपि, २०१६ मा अन्तर्राष्ट्रिय मध्यस्थता अदालतले चीनको ऐतिहासिक दाबीलाई अमान्य ठहर गरेको थियो ।

चीनले उक्त फैसलालाई अस्वीकार गरे पनि संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया, युरोपेली संघ, क्यानडा तथा अन्य पश्चिमी र एसियाली सहयोगीहरूले त्यस फैसलालाई समर्थन गरेका छन् । अमेरिकाले चीनद्वारा अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै गरिएका आक्रामक कार्यहरूको तत्काल निन्दा गर्दै आफ्नो नजिकको एसियाली सहयोगी फिलिपिन्सलाई समर्थन व्यक्त गरेको छ ।

मनिलास्थित अमेरिकी राजदूत मेरिके कार्लसनले यस घटनामा संलग्न फिलिपिनी कर्मचारीहरूले चीनको खतरनाक ठक्कर र पानीको फोहराको प्रयोगको सामना गर्दा देखाएको अतुलनीय साहस र कौशलको प्रशंसा गरेकी छन् ।

फिलिपिन्स कोस्ट गार्डका प्रवक्ता कमोडोर जे तारिएलाले विज्ञप्तिमा भनेका छन्, पाग-आसा (थिटु) टापुको क्षेत्रीय जलक्षेत्रमा पाग्बुवाया र मत्स्य तथा जलीय स्रोत ब्यूरोका अन्य दुई जहाजहरू रहेका बेला चिनियाँ कोस्ट गार्ड र शंकास्पद मिलिसिया जहाजहरू अचानकनजिक आइपुगेका थिए र खतरनाक तथा उत्तेजक व्यवहार गरेका थिए । उनले यस्तो आक्रामकताले मनिलालाई आफ्नो भूमिको एक इञ्च पनि कुनै विदेशी शक्तिलाई नछोड्ने दृढ निश्चयमा अझ सबल बनाएको बताए ।

यसैबीच, बेइजिङमा चिनियाँ कोस्ट गार्डका प्रवक्ता लिउ देजुनले स्यान्डी के (टाईक्सियान रिफ) नजिकको पानीमा दुई फिलिपिनी जहाजहरू चिनियाँ सरकारको अनुमतिबिना गैरकानुनी रूपमा प्रवेश गरेको दाबी गरेका छन् ।

लिउले सम्पूर्ण जिम्मेवारी फिलिपिनी पक्षको भएको बताउँदै फिलिपिन्सले दक्षिण चीन सागरको शान्ति र स्थिरतालाई कमजोर पारेको आरोप लगाए । उनले दक्षिणपूर्वी एसियाली देशलाई तत्काल यस्तो उल्लंघन र उत्पीडन रोक्न कडा चेतावनी दिएका छन् ।