नेपाल वायु सेवा निगमको आर्थिक अवस्था सुधाराेन्मुख : जहाज खरिद र सेवा विस्तारको योजना

Yangle News
Yangle News
२०८० मंसिर ८ गते
नेपाल वायु सेवा निगमको आर्थिक अवस्था सुधाराेन्मुख : जहाज खरिद र सेवा विस्तारको योजना

 

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहेर ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको निगम नयाँ जहाज किनेर सेवा विस्तारको योजनामा लागेको हो ।

 

नयाँ व्यवस्थापन आएर सुधारका काम र व्यापार विस्तार गरेपछि निगममा सुधारका संकेतहरू देखिएका हुन् । राष्ट्रिय ध्वजाबाहक विमान सञ्चालन गर्ने संस्थान निरन्तर घाटामा जाँदा सरकारलाई टाउको दुखाइको विषय बनेको थियो । यतिसम्मकि निगमकै महाप्रबन्धकले निगम विघटन गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएका थिए ।

२०७८ कात्तिकमा युवराज अधिकारी कार्यकारी अध्यक्ष भएपछि निगमभित्र क्रमशः सुधारका संकेत देखिएका थिए । अधिकारी निगमको पूर्व कर्मचारी समेत रहेकाले निगमका अवसर र चुनौतीबारे जानकार छन् ।

 

आर्थिक अवस्थामा सुधार आएसँगै निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुईवटा न्यारोबडी जहाजको पूरै र वाइडबडी जहाजको आंशिक गरी ४ अर्ब ३० करोडभन्दा बढी ऋण तिरेको छ । अन्तिमपटक गएको असोज ३० गते ५३ करोडभन्दा बढी किस्ता निगमले तिरेको छ । त्यसअघि तिरेको ३ अर्ब ७७ करोड समेत जोड्दा अधिकारीको नेतृत्वमा तिरिएको ऋणको अंक ४ अर्ब ३० करोडभन्दा माथि पुग्छ ।

अधिकारी नेतृत्वमा आउनुअघि निगमले लामो समयसम्म ऋण र ब्याज तिर्न सकेको थिएन । ऋणबापतको नियमित किस्ता समयमै तिरेर आफ्नो दायित्व घटाउने काममा व्यवस्थापन लागि परेको छ ।

 

अवस्था कतिसम्म नाजुक भएको थियो भने निगमले वाइडबडी खरिद गर्दाको ऋण तिर्न नसकेपछि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जमानी बसेको सरकारलाई गुहारेका थिए ।

 

कर्मचारीलाई तलब खुवाउन नै मुस्किल पर्ने अवस्थाबाट गुज्रेको निगमले अहिले क्रमशः सुधारका संकेतहरू देखाइरहेको हो ।

 

अन्तर्राष्ट्रिय गन्तव्य थपेर भरपर्दो उडान

 

निगमले नेपाली यात्रु रहेका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान थपेको छ भने यसअघि सञ्चालनमा रहेको क्षेत्रमा समेत उडान थप गरेको छ, जसले निगमको व्यापार बढाएको छ भने जहाज निरन्तर उड्न पाएका छन् । निकट भविष्यमा केही नयाँ गन्तव्यमा उडान शुरू गरेर व्यापार विस्तारको अन्तिम तयारीमा निगम लागेको छ ।

 

नेपाली युवा विद्यार्थीको आकर्षणको केन्द्र बनेको अस्ट्रेलियामा निगमले निकट भविष्यमा उडानको तयारी गरेको छ । अस्ट्रेलियाको सिड्नी, श्रीलंकाको कोलम्बो, चीनको गोञ्झाओ र दक्षिण कोरियामा उडान भर्नका लागि निगमले गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

 

अस्ट्रेलियामा हुने नयाँ उडानले निगमको व्यापारलाई उचाइमा पुर्‍याउने अपेक्षा व्यवस्थापनको छ । अस्ट्रेलियामा उडान शुरू भए पनि नेपाली यात्रुले आफ्नै राष्ट्रिय ध्वजाबाहकमार्फत आरामदायी यात्राको अनुभव गर्न पाउने छन् ।

 

‘नेपाली नागरिकसँग महंगो भाडा असुलिरहेका गिरोहले अस्ट्रेलिया उडानमा व्यवधान खडा गर्न कोशिश गरिरहेका छन्,’ निगमका कार्यकारी अध्यक्ष अधिकारीले लोकान्तरसँग भने, ‘सबै व्यवधान छिचोल्दै छिट्टै राष्ट्रिय ध्वजाबाहक विमान अस्ट्रेलिया उड्ने छ ।’

बौद्ध धर्मावलम्बी पर्यटकका लागि लक्षित गरेर काठमाडौं–बैंग्लोर–कोलम्बो उडानको गृहकार्य भइरहेको अधिकारीले बताए ।

 

‘काठमाडौं–बैंग्लेर–कोलम्बो उडानबाट गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । बुद्ध धर्मप्रति आस्था राख्ने पर्यटकलाई नेपाल भित्र्याई राष्ट्रिय स्वार्थलाई सपोर्ट गर्ने हिसाबले हामीले गृहकार्य गरिरहेका छौं,’ अधिकारीले भने ।

 

निगमले नेपाली कामदारको आकर्षणको केन्द्र बनेको दक्षिण कोरियामा पनि उडानको गृहकार्य गरिरहेको छ ।

 

ईपीएस प्रणालीमार्फत कोरिया जाने कामदार महंगो टिकट काट्न बाध्य छन् । निगमले उडान भरेमा नेपाली कामदारले समेत सस्तोमा यात्रा गर्न पाउने छन् । नयाँ गन्तव्यमा उडान थप्नका लागि निगमले दुईवटा न्यारोबडी विमान भाडामा ल्याउने गृहकार्य गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान छन् ।

 

नेपालका सबै विमानस्थलमा उडान भर्न नयाँ जहाज खरिद

 

निगमले नेपालमा दुर्गम क्षेत्रका विमानस्थलमा नियमित उडानका लागि जहाज थप्ने तयारी गरेको छ । तीनवटा स्टल एयरक्राफ्ट खरिदका लागि अक्टोबर २३ मा सूचना प्रकाशित भएको छ ।

 

निगमले यसपटक बीचमा मध्यस्थकर्ता नराखी सिधै उत्पादकसँग जहाज खरिद गर्ने निर्णय गरेको छ । सिधै उत्पादकसँग जहाज खरिद गर्दा कमिसनका लागि हुने बिचौलियाको चलखेल रोकिने छ ।

 

अहिले निगमले ४० वर्ष पुराना ट्वीनअटर विमानमार्फत दुर्गम क्षेत्रमा उडान गरिरहेको छ । नियमित मर्मतसम्भार गरेका कारण दुईवटा ट्वीनअटर विमानले अहिले पनि दुर्गमका जिल्लामा यात्रुलाई सेवा दिइरहेको छ । कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पमा घाइते भएकालाई पनि निगमको ट्वीनअटर विमानले उद्धार गरेको थियो ।

 

दुर्गमका क्षेत्रमा नियमित उडान तथा यात्रुलाई सुलभ भाडामा यात्रा गराउनका लागि जहाज खरिद गर्न लागिएको अधिकारीले बताए । ‘निगमले नियमित उडान गरेपछि दुर्गमका सर्वसाधारणले सहज यात्रा गर्न पाउनुहुनेछ, साथै भाडामा हस्तक्षेप भई अन्य वायु सेवा कम्पनीले भाडा घटाउन बाध्य हुनेछन्,’ अधिकारीले भने ।