पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आइतबार (असोज १२) जारी बडादसैँको शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गरेका छन् । ‘हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो,’ उनले भनेका छन्, ‘हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’
उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने बताएका छन् । आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्ने उनले धारणा व्यक्त गरेका छन् ।
‘भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिँदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नुपर्दछ,’ उनले भनेका छन्, ‘युग र कालअनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मूल्यमान्यताको ख्याल राख्नैपर्दछ ।’
युवापुस्ता भविष्यका आधारस्तम्भ हुन् भन्दै शाहले उनीहरूमा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उल्लेख गरेका छन् । ‘यही समयको माग हो । हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटिपरे,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नुपर्दछ ।’
राष्ट्रलाई माया गर्ने सोच र चेत नेपालीमा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ,’ उनले भनेका छन्, ‘जे भयो भयो, जेजे नहुनु थियो त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।’
दसैं पर्वका अवसरमा उनले नेपालभित्र र बाहिर रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन् । देश विध्वंस र शोकको स्थितिमा रहेकाले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने उनले बताएका छन् । शुभेच्छुकलाई आफूलाई टीका र जमरा प्रदान नगर्ने उनले जानकारी गराएका छन् ।