राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कुल तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीमा तीन करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत र धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।
बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशअनुसार उनलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो । रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै बाँकी थियो ।
आज बिहान पहिलो उडानबाट भैरहवा ल्याउने भनिए पनि खराब मौसमका कारण भैरहवा विमानस्थलमा उडान हुन नसकेपछि उनलाई भरतपुरसम्म हवाइमार्ग र त्यसपछि सडक मार्ग हुँदै करिब साढे ५ बजे मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको हो । भैरहवाबाट रिहा भएलगत्तै लामिछाने चितवनतर्फ लागेका छन् । उनी आज चितवनमै बास बस्ने रास्वपा नेताहरूले जानकारी दिएका छन् ।
उनले ठूला दलतिर लक्षित गर्दै देशमाथि ठूलो अन्याय गरेको बताए । ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि भएको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नुछ, त्यो सबै हिसाब मिलाएपछि म लामो बोलौंला,’ उनले भने, ‘हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ । म आशा गर्छु, यो देशले चाँडै न्याय पाउने छ ।’