निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १६८ वटा मतदान स्थल थप्ने निर्णय गरेको छ ।
यही मंसिर १४ गतेको आयोगको निर्णयअनुसार १६८ वटा मतदान स्थल थप्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा आम मतदाताको पहुँचलाई सरल, सहज र थप व्यवस्थित तुल्याउन आयोगले देशभरका मतदान स्थलमा पुनरावलोकन गरेको छ,’ भट्टराईले भने, ‘आयोगबाट मंसिर १४ गते भएको निर्णयअनुसार मतदाताको सुविधाका लागि देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरिएका छन् ।’
उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएका छन् । यसबाट साबिकमा कायम १० हजार ८९२ मतदान स्थलमा खुद ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९६७ मतदान स्थल कायम गरिएको उनले बताए ।
मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गर्ने, मतदातालाई साबिककै अर्को मतदानस्थलमा समायोजन गर्ने लगायतका कार्य सम्पन्न गरिएको उनले बताए ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल १२० राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दल दर्ताको अन्तिम दिन कुल १२० वटा दल दर्ता भएका आयोगले जनाएको छ । यसअघि मंसिर १० गतेसम्मका लागि दल दर्ताको म्याद तोकिएकोमा राजनीतिक दलहरूको संख्या बढ्दै जाँदा आयोगले मंसिर १४ गतेसम्म म्याद थप गरेको थियो ।