कोशी प्रदेशका नदीहरुमा अझै तीन दिन पानीको बहाव बढ्ने

Yangle News
Yangle News
२०८० असार ४ गते
कोशी प्रदेशका नदीहरुमा अझै तीन दिन पानीको बहाव बढ्ने

 

शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका ठुला नदीहरूमा अझै तीन दिनसम्म पानीको बहाव बढ्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको सप्तकोशीको चतरा क्षेत्र,  तमोरको त्रिवेणाी,  अरुणको सिम्लेमा तीन दिनसम्म पानीको बहाव उल्लेख्य बढ्नेछ ।

यस्तै दूधकोशीको रबुवाबजार,  तामोकोशीको बुस्ती र सुनकोशीको हम्पचुवारमा नदीको बहाव सामान्य बढ्ने पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाले आज बिहान गरेको पूर्वानुमान अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको पनि जनाएको छ । काबेली नदीमा भने जल सतह सतर्कता तह आसपासमा रहेको जनाइएको छ ।

यस्तै आज ताप्लेजुङ,  पाँचथर,  सङ्खुवासभा,  तेह्रथुम,  इलाम,  झापा,  दोलखा,  लमजुङ,  गोरखा भई बग्ने केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । भोली पनि ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र आसपासका जिललहरुको केही ससाना नदीहरूमा बहाव बढ्न सक्ने र केहीमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान छ ।

 

266 views