मनराम हिमालयन ह्याण्डिक्राफ्ट प्रालिका प्रबन्ध निर्देशक सुजनकुमार श्रेष्ठ ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)’ सम्मानबाट सम्मानित भएका छन् । उद्योग तथा वाणिज्य क्षेत्रमा विशिष्ट योगदान गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएवापत नेपाल सरकारले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।
तेश्रो मुलुकमा सबैभन्दा बढी छुर्पी निकासी गर्ने निकासीकर्तातर्फ निर्यात क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘महत्वपूर्ण व्यवसायिक व्यक्ति’को रुपमा दुई वर्षका लागि सम्मान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उल्लेख गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा श्रेष्ठलाई सीआइपी पदक र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरे ।
मनराम हिमालयन ह्याण्डिक्राफ्टले दुई दशकदेखि नेपाली परम्परागत उत्पादन ‘हिमालयन डक च्यु (छुर्पी)’को निर्यात गर्दै आएको छ । विशेष गरी अमेरिकालगायत विभिन्न मुलुकमा छुर्पी निर्यात गरेर नेपाली उत्पादनको बजार विस्तारमा यस कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
निर्यातमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति वा कम्पनीलाई मन्त्रालयले सीआइपी सम्मान प्रदान गर्ने गरेको छ । मन्त्रालयका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढी निकासी भएका पाँच वस्तुमा छुर्पीसमेत परेको छ । यसपटक श्रेष्ठसहित ३० व्यक्ति/कम्पनीलाई सरकारले सीआइपी सम्मान प्रदान गरेको हो ।