आजदेखि यात्रुवाहक सार्वजनिक सवारी साधनमा रुट परमिट खुला भएको छ । सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालनका लागि आजदेखि देशभरको लागि रुट परमिट खुला गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महाससंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यही असोज १ गते यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरुको बैठकले आजदेखि यही असोज २२ गतेसम्म रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।
रुट परमिट खुला भएसँगै आजदेखि रुट नलिइन सार्वजनिक यातायातका साधन गन्तव्यस्थलसम्म जान पाउनेछन् । तर, कुनै सडक विशेष प्रकृतिको भए सो सडकमा चल्न निषेध गरिएका आकार प्रकारका सार्वजनिक सवारी साधनलाई भने सो बन्देज कायमै राखिएको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य रुपमा टिकट लिन पनि महासंघले यात्रुहरुलाई आग्रह गरेको छ ।
विभागले यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलरलगायतका ठूला सवारीसाधन आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाएको छ । स्वाँरले अनधिकृत काउन्टर, परिचयपत्र, पोसाक नभएका व्यक्तिबाट टिकट खरिद नगर्न पनि यात्रुहरुलाई आग्रह गरेका छन् ।
दशैं सुरु भएसँगै कर्मथलो छोडेर घर फर्किने क्रम सुरु भएको छ । काठमाडौंका नाकामा सवारीको चाप बढेको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर, जडीबुटी क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको छ ।