गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । पर्सामा आयोजित पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको पहिचान भएकाले विधितासहितको एकतालाई कायम राख्न सबैसँग आग्रह गरेका हुन ।
धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना तथा परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा उभिन सबैसँग आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सद्भाव बिगार्ने र एकता भत्काउनेमाथि सरकारले सविंधान तथा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिए ।
भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याएर दोषीलाई कानुनी कठघरामा उभियाउने दृढतासमेत व्यक्त गरे ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको सिआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले बताए ।