अभिनेतृ स्वस्तिमा खड्का इन्ड्राइभको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएकी छन् । इन्ड्राइभले स्वस्तिमा खड्कालाई व्यापारिक विज्ञापनका लागि ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।
पछिल्लो समय इन्ड्राइभ नेपालीहरुको यातायातको साधनका लागि सजिलो र भरपर्दो माध्यमको रूपमा प्रयोग हुँदै आइरहेको छ । इन्ड्राइभ सेवा ४८ देशको ९८२ सहरमा सञ्चालन हुँदै आएको छ । कम्पनीले ‘तपाईंको यात्रा तपाईंको रोजाइबाट सुरु हुन्छ’ नामक नयाँ ३ सय ६० डिग्रि अभियान पनि सार्वजनिक गरेको छ । यो अभियानले इनड्राइभको अद्वितीय ‘पियर-टु-पियर’ मोडेललाई केन्द्रमा राख्ने कम्पनीले जनाएको छ । यसले यात्रु र चालक दुवैलाई भाडा प्रस्ताव गर्न र आपसी सहमतिमा सम्झौता गर्न स्वतन्त्रता दिने कम्पनीको दाबी छ ।
यो अभियान डिजिटलदेखि सडकसम्म विभिन्न माध्यमबाट सञ्चालन गरिने जनाइएको छ । विश्वभर ३ सय ६० मिलियनभन्दा बढी डाउनलोड भएको इनड्राइभले नेपालमा निष्पक्ष गतिशीलता र आर्थिक अवसरहरू सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।