नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । दिनदिनै कीर्तिमान कायम गर्दै सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
यसरी सुनको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्य वृद्धि हो । विश्वव्यापी आर्थिक र भू-राजनीतिक अस्थिरताका बीच सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेको छ ।
विश्वका लगानीकर्ताहरूलाई सुरक्षित लगानीका रूपमा सुनतर्फ झनै आकर्षित गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको यो तीव्र वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी १११ डलरमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबमा आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको हो । आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला चाँदी ६ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।
२०२६ को सुरुवातदेखि सुनको अन्तर्राष्ट्रिय मूल्य उच्च स्तरमा रहेर विश्वभरि निवेशकहरूको ध्यान आकर्षित गरिरहेको छ । अमेरिका, युरोप र अन्य अर्थतन्त्रहरूले ब्याजदर कटौतीको अपेक्षाका कारण बचत र बन्ड लगानीहरू कम आकर्षक भएका छन् । सुनले कुनै ब्याज नदिए पनि कम ब्याजदरको वातावरणमा यसको माग बढिरहेको छ ।
यसका साथै, विश्वभरका केन्द्रीय बैंकहरूले सुन भण्डार बढाइरहेकाले पनि मूल्यमा वृद्धि भइरहेको विश्लेषकहरुले बताएका छन् । पोल्याण्ड, ब्राजिल र चीनजस्ता मुलुकहरूले ठूलो मात्रामा सुन थुपार्न थालेपछि बजारमा यसको माग र आपूर्तिबीचको सन्तुलन बिग्रिएर मूल्य चुलिएको हो ।
सुनको मूल्य प्राय: डल्लर कमजोर हुँदा बढ्ने गरेको छ । अमेरिकी डलर कमजोर बन्दा सुन अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई थप आकर्षक बन्छ । धेरै देश र लगानीकर्ताहरू मुद्रा विविधीकरणको रूपमा सुनमा रुचि देखाइरहेका छन् । फलतः सुनको मूल्य रेकर्ड स्तरमा वृद्धि भइरहेको छ ।
राजनीतिक तनाव, विश्वव्यापी अस्थिरता र आर्थिक अनिश्चितताले पनि सुनको मूल्य वृद्धिमा सघाइरहेको छ । विशेषगरी अमेरिकाले ग्रिनल्याण्ड कब्जा गर्ने र नेटो सहयोगी राष्ट्रहरूसँगको बढ्दो टकरावले विश्व बजारमा संशय पैदा गरेको छ । यसका साथै भेनेजुएला र इरानमा उत्पन्न नयाँ राजनीतिक संकटले पनि लगानीकर्ताहरूलाई डलर र सेयर बजारभन्दा सुन सुरक्षित लाग्न थालेको हो ।
यी र यस्तै कारणले सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गरिएको छ । सन् २०२६ को डिसेम्बरसम्ममा सुनको मूल्य प्रतिऔंस ६ हजार डलरसम्म पुग्ने अनुमान गरिएको छ ।