कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने

Yangle News
Yangle News
२०७९ पुस ४ गते
कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने

नेपाली कांग्रेसको संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन बुधबार बिहान हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिले बुधबारका लागि मिति तोकेको हो । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बेको नेतृत्वमा ती सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

संयोजक आङ्दम्बेसहित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको निर्वाचन समितिले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म संसदीय दलको निर्वाचन गराउने भएको हो ।

भुसालका अनुसार सोमबार बिहान पार्टी कार्यालय सानेपामा बसेको निर्वाचन समितिको बैठकले निर्वाचनको समय तालिका पनि बनाएको छ। आजै मतदाता नामावली प्रकाशित गरिने छ । उनले भनिन्, ‘आज मतदाता नामावली प्रकाशन हुन्छ । त्यसपछि दाबी–विरोध हुन्छ । अन्तिम नामावली प्रकाशित हुन्छ ।’ कांग्रेसमा संसदीय दलको चुनावमा प्रतिनिधिसभाका सांसद मतदाता हुने व्यवस्था छ ।

उम्मेदवारी दर्ता भने बुधबार बिहानै सुरु हुने उनको भनाइ छ । उनले भनिन्, ‘उम्मेदवारी दर्तामाथि दाबी–विरोधको समय सकिएपछि मतदान सुरु हुन्छ ।’

320 views